काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल मतदातासँगको व्यवहारलाई लिएर पुनः विवादमा तानिएका छन्। सार्वजनिक कार्यक्रममा मतदातासँग आक्रामक शैलीमा प्रस्तुत भएको उनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
भाइरल भिडियोमा सांसद खनालले आफ्नो सम्बोधनका क्रममा प्रश्न उठाउने एक व्यक्तिप्रति आक्रोशित प्रतिक्रिया दिएका देखिन्छन्। ती व्यक्तिले प्रश्न गरेपछि खनालले प्रमाण माग्दै कडा शब्द प्रयोग गरेका छन्।
भिडियोमा उनले, “कसले भन्यो ? प्रमाण छ ? देखाउनुस्, त्यसपछि थाहा हुन्छ,” भन्दै प्रश्नकर्तामाथि कडा शैलीमा प्रस्तुत भएको सुनिन्छ। त्यसक्रममा कार्यक्रममा उपस्थित केही समर्थकसमेत प्रश्न सोध्ने व्यक्तितर्फ आक्रामक रूपमा अघि बढेको भिडियोमा देखिन्छ।
उक्त भिडियोमा विवादको वास्तविक विषय भने स्पष्ट खुल्न सकेको छैन। तर, प्रश्न उठाएकै कारण सांसदले मतदातासँग असहज र रुखो व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
यो पहिलो पटक भने होइन, सांसद खनाल यसअघि पनि आफ्ना अभिव्यक्तिका कारण विवादमा परेका थिए। उनले सार्वजनिक कार्यक्रममा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिको भूमिकाबारे दिएको टिप्पणीले पनि आलोचना खेपेका थिए।
त्यतिबेला उनले संघीय सांसदको भूमिका र स्थानीय सरकारको जिम्मेवारीबारे बोल्दै सडक, ग्राभेल र स्थानीय पूर्वाधार निर्माण स्थानीय तहको काम भएको बताएका थिए। साथै, निर्वाचनमा आफ्नो पार्टीलाई मत दिएका नागरिकले स्थानीय जनप्रतिनिधिबाट अपेक्षित सहयोग नपाएको प्रसंगसमेत उठाएका थिए।
सांसद खनालका पछिल्ला अभिव्यक्ति र व्यवहारसम्बन्धी भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।
कतिपयले निर्वाचित जनप्रतिनिधिले मतदाताका प्रश्नलाई संयमतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन् भने समर्थकहरूले भिडियोको पूर्ण सन्दर्भ सार्वजनिक हुनुपर्ने धारणा राखेका छन्।