स्वास्थ्य मन्त्रालयको आग्रह : उपचार सेवा नरोक्नुस्, दोषीमाथि कारबाही हुन्छ

1.7k Shares

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न सबै अस्पताललाई आग्रह गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको हो। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

विज्ञप्तिअनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्।

यसैबीच, नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएकी थिइन्।

उनले राष्ट्रिय ट्रमा सेन्टर पुगेर चिकित्सक रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएकी थिइन्।

मन्त्री मेहताले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्रालयले स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको मौलिक अधिकार भएको उल्लेख गर्दै उपचार सेवा निरन्तर सञ्चालन गर्न र नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगराउन सबै अस्पताल तथा सरोकारवालालाई आग्रह गरेको छ।

सम्बन्धित समाचार