निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ आज

1.5k Shares

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बोलाइएको छ।

आजको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ गर्ने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका कार्कीको सुनुवाइ भने बुधबार गर्ने तयारी गरेको छ। त्यसका लागि उनलाई प्रस्तुतीकरणका लागि बोलाइसकिएको छ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

यसअघि समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका प्रस्तावित उम्मेदवारविरुद्ध उजुरी वा सुझाव भए पेश गर्न सार्वजनिक आह्वानसमेत गरेको थियो।

सम्बन्धित समाचार