वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा गत शनिबार भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये हालसम्म करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए।
चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि तयार भएका थिए।
डा. सिंहका अनुसार चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि चिकित्सकहरूको टोली सीडीओ कार्यालय पुगेको थियो। तर, वार्ताकै क्रममा वातावरण तनावपूर्ण बनेको उनको आरोप छ।
उनका अनुसार नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने चेतावनी दिएपछि सीडीओ आक्रोशित बनेका थिए। त्यसपछि सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप पनि उनले लगाए।
डा. सिंहले भने, "वार्ताबाट बाहिर निस्किँदै गर्दा प्रहरी परिचालन गरेर चिकित्सकहरूलाई घेरा हालियो। मोबाइलसमेत खोसियो र फेरि कार्यालयभित्र लगेर झण्डै एक घण्टा नियन्त्रणमा राखियो। अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।"
उनले प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको उल्लेख गर्दै सीडीओ र एसपी पदमा रहुञ्जेल काममा नफर्किने अडान दोहोर्याए।
"अस्पतालभित्र चिकित्सक कुटिन्छन्, वार्तामा बोलाएर फेरि प्रशासनले नै धम्क्याउँछ भने सुरक्षित वातावरण कसरी हुन्छ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिँदैन," उनले भने।
यता नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।
गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उक्त घटनापछि दोषीमाथि तत्काल कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा ठप्प पार्दै आन्दोलन जारी राखेका छन्।