काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग तत्काल कार्यान्वयन गर्न दबाब दिँदै काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ।
यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरी आन्दोलन स्थगित गरे पनि अर्को समूहले आफूहरूको माग अझै सम्बोधन नभएको भन्दै मंगलबारदेखि आमरण अनशन सुरु गरेको हो।
संघर्ष समितिका अनुसार ग्रामीण तथा सहरी क्षेत्रका विपन्न परिवार, किसान, मजदुर तथा साना व्यवसायी लामो समयदेखि लघुवित्त संस्थाको चर्को ब्याजदर, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीका कारण आर्थिक संकटमा परिरहेका छन्।
समितिले सरकारसँग विगतमा भएका सहमतिहरू अझै कार्यान्वयन नभएको आरोप लगाउँदै न्यायका लागि बाध्य भएर आमरण अनशनमा बस्नुपरेको जनाएको छ।
आन्दोलनरत पक्षले पीडितको समस्या समाधानका लागि सरकारले तत्काल ठोस निर्णय लिनुपर्ने, अन्यथा आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएको छ।
यसअघि सरकार र लघुवित्त पीडितबीच भएको वार्तापछि आन्दोलन केही समयका लागि स्थगित गरिएको थियो। तर, सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै अर्को समूह पुनः आन्दोलनमा उत्रिएको हो।
संघर्ष समितिले सरकारले पीडितहरूको मागप्रति गम्भीर नबने थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संकेत पनि दिएको छ।