सुनसरी तनाव: पूर्व–पश्चिम राजमार्ग फेरि अवरुद्ध, विराटनगरसम्म फैलियो प्रदर्शन

1.4k Shares

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा आन्दोलनरत समूहले मंगलबार पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको छ। प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् भने विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पकलीदेखि कोशी ब्यारेज क्षेत्रसम्म राजमार्गका विभिन्न स्थानमा अवरोध सिर्जना भएको छ। चोक–चोकमा प्रदर्शनकारी भेला भएर आन्दोलन गरिरहेका कारण यातायात प्रभावित भएको उनले बताए।

प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधनलाई रोक्दै वैकल्पिक सुरक्षा व्यवस्था अपनाएको छ।

यद्यपि, घटनास्थल देवानगञ्जको अवस्था भने क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।

गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिणी सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

सोमबार कर्फ्यु उल्लङ्घन गर्दै दिनभर प्रदर्शन भएपछि प्रशासनले मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाभर निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रका तोकिएका स्थानमा कर्फ्यु आदेश कायम राखिएको छ।

प्रशासनले कर्फ्यु लागू भएका क्षेत्रमा कुनै पनि भेला, जुलुस, प्रदर्शन वा शान्ति–सुरक्षामा असर पर्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सुनसरीमा जारी प्रदर्शन र सुरक्षा व्यवस्थाका कारण पूर्वी नेपालका केही स्थानमा जनजीवन तथा यातायात सेवा प्रभावित बनेको छ। स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन सुरक्षा निगरानी थप कडा बनाएको जनाएको छ।

सम्बन्धित समाचार