नेपाल–रुस व्यापार सहकार्य विस्तारमा जोड, उद्योगमन्त्री यादवलाई रुस भ्रमणको निमन्त्रणा

3.2k Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–रुसबीचको व्यापारिक, आर्थिक तथा औद्योगिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको छ।

उद्योग मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीच व्यापार सहजीकरण, आर्थिक साझेदारी अभिवृद्धि तथा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो।

राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच व्यापार तथा आर्थिक मञ्चमार्फत भइरहेको सहकार्यलाई थप प्रभावकारी बनाउन वर्तमान सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीच आर्थिक तथा औद्योगिक सहकार्य अझ मजबुत हुने अपेक्षा पनि व्यक्त गरे।

भेटकै अवसरमा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीका तर्फबाट उद्योगमन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै उक्त भ्रमणले द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

भेटका क्रममा मन्त्री यादवले नेपालका बन्द अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनका लागि रुस सरकारको प्राविधिक तथा आवश्यक सहयोगको अपेक्षा व्यक्त गरिन्। विशेषगरी हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न उनले प्रस्ताव राखिन्।

मन्त्री यादवको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै राजदूत सुरोभ्त्सेभले रुस सरकारसँग आवश्यक समन्वय गरी नेपालले उठाएका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र रुसबीच आर्थिक तथा औद्योगिक सम्बन्ध विस्तार गर्ने प्रयास भइरहेका बेला भएको यो भेटलाई द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण मानिएको छ।

सम्बन्धित समाचार