प्रधानमन्त्री र ऊर्जामन्त्रीमाथि स्वर्णिमको अप्रत्यक्ष प्रश्न

1.6k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच केही महिनादेखि चर्चामा रहेको मतभेद मंगलबार सार्वजनिक अभिव्यक्तिमार्फत थप उजागर भएको छ। अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा धेरै सल्लाहकार रहेको उल्लेख गर्दै आफूले भने एक जना अवैतनिक सल्लाहकार मात्र राखेको बताएका छन्।

राजस्व चुहावट र पुँजीबजार नियन्त्रणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा २० जना सल्लाहकार कार्यरत रहेको दाबी गरे। त्यसको विपरीत आफूले एक जना मात्र अवैतनिक राजस्व सल्लाहकार राखेको उल्लेख गर्दै उनले खर्च कटौती र सुशासनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना सल्लाहकार हुनुहुन्छ, ऊर्जा मन्त्रालयमै २० जना सल्लाहकार राखिएको रहेछ,’ उनले भने, ‘तर मैले अहिले पनि एक जना मात्रै सल्लाहकार राखेको छु, ती पनि अवैतनिक राजस्व सल्लाहकार हुन्।’

बजेट निर्माणको समयदेखि नै प्रधानमन्त्री र अर्थमन्त्रीबीच सम्बन्ध चिसिएको चर्चा हुँदै आएको थियो। त्यतिबेलादेखि नै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउन खोजेको चर्चा राजनीतिक वृत्तमा चल्दै आएको छ। मंगलबारको सार्वजनिक अभिव्यक्तिले ती अड्कलबाजीलाई थप बल पुगेको विश्लेषण गरिएको छ।

पछिल्ला केही महिनायता प्रधानमन्त्री र सरकारका केही मन्त्रीबीच समन्वयको अभाव देखिएको चर्चा भइरहेका बेला अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई सरकारभित्रको असहज सम्बन्धको संकेतका रूपमा समेत हेरिएको छ। आफ्ना भनाइमार्फत उनले आफूलाई मितव्ययिता र सुशासनको पक्षमा उभ्याउँदै प्रधानमन्त्री र ऊर्जा मन्त्रीको कार्यशैलीप्रति अप्रत्यक्ष प्रश्न उठाएको सन्देश दिएका छन्।

 
 
सम्बन्धित समाचार