काठमाडौं । विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अब अभिनय क्षेत्रमा पनि देखिने भएका छन्। पोर्चुगलका कप्तान रोनाल्डो बेलायती फुटबलमा आधारित नयाँ टेलिशृङ्खला ‘डे वान्स (Day 1s)’ मार्फत पहिलो पटक अभिनयमा डेब्यु गर्न लागेका हुन्।
रोनाल्डो यस शृङ्खलामा कलाकारका रूपमा मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि रहनेछन्। यो शृङ्खला बेलायती फुटबल, खेलाडीका एजेन्ट, क्लब व्यवस्थापन र फुटबल व्यवसायभित्रका प्रतिस्पर्धा तथा पर्दापछाडिका घटनामा केन्द्रित हुनेछ।
यो परियोजना रोनाल्डो र चर्चित चलचित्र निर्देशक म्याथ्यु भनले स्थापना गरेको यूआर–मार्भ स्टुडियोमार्फत निर्माण भइरहेको छ। शृङ्खलामा बेलायती अभिनेता डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन् भने फ्रान्सका पूर्व स्टार थियरी हेनरीको पनि विशेष भूमिका रहने जनाइएको छ।
४१ वर्षीय रोनाल्डोले यसअघि विज्ञापन, वृत्तचित्र र भिडियो खेलमा देखिए पनि स्क्रिप्टअनुसार अभिनय गर्ने यो उनको पहिलो टेलिशृङ्खला हुनेछ। हाल लन्डनमा छायाङ्कन सुरु भइसकेको छ। यद्यपि शृङ्खला कहिले सार्वजनिक हुनेछ र कुन स्ट्रिमिङ प्लेटफर्ममार्फत प्रदर्शन हुनेछ भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
फुटबल मैदानमा कीर्तिमान कायम गरेका रोनाल्डोले पछिल्ला वर्षहरूमा चलचित्र, मिडिया र मनोरञ्जन क्षेत्रमा पनि लगानी बढाइरहेका छन्। अभिनयमा उनको प्रवेशलाई खेलकुदपछि मनोरञ्जन उद्योगमा नयाँ अध्यायका रूपमा हेरिएको छ।