काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान ८ बजे बस्ने बैठकमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल हुने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै मधेश केन्द्रित दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।
महामन्त्री आचार्यका अनुसार सुनसरीमा भएको संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम गर्न राजनीतिक तहबाट साझा सन्देश दिन बैठक आयोजना गरिएको हो।
‘अत्यन्तै संवेदनशील र दुःखद् घटनाले असहज अवस्था सिर्जना गरेको छ। प्रशासनिक प्रयाससँगै राजनीतिक दलहरूले पनि सामूहिक रूपमा सद्भाव, शान्ति र संयमको सन्देश दिन आवश्यक ठानेर यो छलफल आयोजना गरेका हौँ,’ आचार्यले बताएका छन्।
बैठकबाट सुनसरी घटनाका विषयमा साझा धारणा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको संयुक्त अपिल जारी गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।