प्रचण्डले भने– प्रधानमन्त्रीले तत्काल सर्वदलीय सहमतिको पहल गर्नुपर्छ

1.4k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव, आपसी विश्वास र शान्ति कायम राख्न राजनीतिक दल, सरकार तथा सरोकारवाला सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रचण्डले विगतमा भूकम्प, बाढीपहिरोजस्ता राष्ट्रिय विपद् तथा संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले राष्ट्रिय एकता र साझा सहमतिको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिलेको परिस्थितिमा पनि संवाद, राजनीतिक परिपक्वता र जिम्मेवारी अपरिहार्य रहेको उल्लेख गरे।

उनले राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार साझा समाधान खोज्न पर्याप्त सक्रिय हुन नसकेको भन्दै प्रश्न उठाए। साथै, सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति तथा प्रधानमन्त्री रवि लामिछानेलाई धन्यवाद पनि व्यक्त गरे।

प्रचण्डले सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन,’ भन्दै उनले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत वर्तमान परिस्थिति सहज बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टीका सबै तहलाई निर्देशन दिइसकेको जानकारी दिए।

सुनसरीको घटनामा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वहरू पनि सक्रिय हुन सक्ने आशंका व्यक्त गर्दै प्रचण्डले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार