चिकित्सक आन्दोलन दोस्रो दिन पनि जारी, देशभर इमर्जेन्सीबाहेक सबै सेवा ठप्प

2.4k Shares

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा बुधबार पनि देशभर आन्दोलनलाई निरन्तरता दिएको छ। आन्दोलनका कारण सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा दोस्रो दिन पनि बन्द भएका छन्।

संघले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकार गम्भीर नबनेको आरोप लगाउँदै आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ। दोषीलाई कारबाही नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी पनि संघले दिएको छ।

आन्दोलनका कारण देशभरका अस्पतालमा ओपीडी सेवा, नियमित स्वास्थ्य परीक्षण, योजना अनुसार हुने शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन्। यद्यपि, आकस्मिक सेवा भने सञ्चालनमा राखिएको छ ताकि आपत्कालीन अवस्थाका बिरामीले उपचारबाट वञ्चित हुन नपरोस्।

यसबीच काठमाडौंका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीको चाप बढेको छ। विशेषगरी शिक्षण अस्पताल र वीर अस्पतालमा उपचारका लागि आउने बिरामीको भीड देखिएको छ। नियमित सेवा बन्द भएपछि उपचारका लागि आएका धेरै बिरामी निराश हुँदै फर्किन बाध्य भएका छन् भने केहीले आकस्मिक सेवा वा वैकल्पिक अस्पतालको सहारा लिनुपरेको छ।

चिकित्सक संघको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामी र उनीहरूका आफन्तलाई प्रत्यक्ष असर परेको छ। सरकारले घटनाका दोषीलाई कानुनी दायरामा ल्याएर चिकित्सकको सुरक्षा सुनिश्चित गर्नुपर्ने मागसमेत तीव्र बन्दै गएको छ।hospital-close-all-nepal-npl-photo-(11)-1785298220.jpg

 
 
 
सम्बन्धित समाचार