वेस्ट ब्याङ्कमा प्यालेस्टिनीमाथि आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा

1.5k Shares

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कब्जा गरिएको वेस्ट ब्याङ्क क्षेत्रमा इजरायली बासिन्दाबाट प्यालेस्टिनी समुदायमाथि भएको हिंसात्मक आक्रमणको कडा निन्दा गर्नुभएको छ। उहाँले धार्मिक स्थल, नागरिक र निजी सम्पत्तिमाथि भएका आक्रमण तत्काल रोक्न तथा दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न इजरायललाई आग्रह गर्नुभएको हो।

महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार पछिल्ला घटनामा दुईवटा मस्जिदमा आगजनी गरिएको, निजी सम्पत्तिमा तोडफोड गरिएको तथा प्यालेस्टिनी नागरिकलाई लक्षित गरी आक्रमण भएको छ। धार्मिक स्थलमाथिको हमला घृणित र पूर्ण रूपमा अस्वीकार्य भएको उल्लेख गर्दै हकले यसले पहिले नै तनावग्रस्त रहेको क्षेत्रमा थप द्वन्द्व भड्काउने जोखिम बढाएको बताउनुभयो।

महासचिव गुटेरेसले आक्रमणमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ। साथै, इजरायली अधिकारीहरूले प्यालेस्टिनी नागरिक, उनीहरूको सम्पत्ति तथा धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्दै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाइ छ।

गुटेरेसले सबै पक्षलाई अधिकतम संयमता अपनाउन, थप तनाव रोक्न र शान्ति पुनःस्थापनाका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति प्रक्रियाका उपविशेष संयोजक रमिज अलक्बरोभका अनुसार गत शुक्रबार नब्लुसको दक्षिणपश्चिम क्षेत्रमा भएको हिंसात्मक घटनामा चार जना प्यालेस्टिनी र दुई जना इजरायली नागरिकको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए। उक्त घटनाबाट प्यालेस्टिनी समुदायको सम्पत्तिमा ठूलो क्षति पुगेको पनि उहाँले सुरक्षा परिषद्लाई जानकारी दिनुभएको छ।

यस घटनापछि इजरायलले वेस्ट ब्याङ्कभर व्यापक गिरफ्तारी अभियान सञ्चालन गर्दै कम्तीमा ८० जना प्यालेस्टिनीलाई नियन्त्रणमा लिएको जनाइएको छ। सञ्चारमाध्यमका अनुसार आइतबार पनि इजरायली बासिन्दाले वेस्ट ब्याङ्कका प्यालेस्टिनी गाउँहरूमा आक्रमण गरी दुईवटा मस्जिदमा आगजनी गरेका थिए।

पछिल्ला घटनाले वेस्ट ब्याङ्कमा इजरायली बासिन्दा र प्यालेस्टिनी समुदायबीचको तनाव थप चर्किएको छ भने अन्तर्राष्ट्रिय समुदायले हिंसा रोक्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षहरूलाई दबाब बढाइरहेको छ।

सम्बन्धित समाचार