कप्तानगञ्जको अवस्था सामान्य बन्दै, सरकारी टोली घटनास्थलमै छानबिनमा

1.4k Shares

इटहरी । सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव क्रमशः साम्य बन्दै गएको छ। सुरक्षा व्यवस्था थप सुदृढ बनाइनुका साथै घटनाको छानबिनका लागि गठित सरकारी समिति, जिल्ला सुरक्षा समिति र प्रशासनको संयुक्त टोली घटनास्थल पुगेर तथ्य संकलन थालेपछि अवस्था पहिलेको तुलनामा शान्त देखिएको हो।

सरकारी टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै मृतक तथा घाइतेका परिवार, स्थानीय बासिन्दा र सरोकारवालासँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी संकलन गरिरहेको छ। घटनाको वास्तविक कारण, त्यसको प्रभाव तथा आगामी सुरक्षा व्यवस्थाका विषयमा समेत टोलीले आवश्यक अध्ययन गरिरहेको जनाइएको छ।

प्रशासनले क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्दै शान्ति–सुरक्षा कायम राख्न विशेष निगरानी बढाएको छ। स्थानीयवासीलाई अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न पनि आग्रह गरिएको छ।

छानबिन समितिले संकलन गरेका तथ्यका आधारमा घटनाको निष्कर्ष निकालिने र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। यससँगै प्रभावित क्षेत्रमा जनजीवन पनि बिस्तारै सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार