काठमाडौं । प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा प्रारम्भमा कार्कीविरुद्ध उजुरी दर्ता गराउने उजुरीकर्तासँग छलफल भइरहेको छ।
समितिको कार्यसूचीअनुसार उजुरीकर्तासँग छलफल सम्पन्न भएपछि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई समितिसमक्ष उपस्थित गराई सुनुवाइ गरिनेछ। सुनुवाइका क्रममा उहाँको नियुक्ति प्रक्रिया, नैतिक आचरण, व्यावसायिक अनुभव तथा संवैधानिक पदका लागि आवश्यक योग्यता सम्बन्धी विषयमा समितिका सदस्यहरूले प्रश्न गर्नेछन्।
मानबहादुर कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया, नैतिक आचरण तथा संवैधानिक जिम्मेवारी निर्वाह गर्ने योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ। सोही उजुरीका आधारमा समितिले आवश्यक छलफल र सुनुवाइ प्रक्रिया अघि बढाएको हो।
यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको संसदीय सुनुवाइ सम्पन्न गरेको थियो।
संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूलाई राष्ट्रपतिबाट औपचारिक रूपमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।