काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेता पदमा मनोनयन गरेको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार बालेनलाई अध्यक्ष रवि लामिछानेपछि दोस्रो वरीयताको नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित यो जिम्मेवारी प्रदान गरिएको हो।
रास्वपाको पछिल्लो केन्द्रीय समिति बैठकले पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने निर्णय गर्दै बालेनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी स्रोतका अनुसार सरकार र पार्टीबीच समन्वय प्रभावकारी बनाउन तथा रणनीतिक निर्णय प्रक्रियामा बालेनको भूमिकालाई संस्थागत गर्न यो कदम चालिएको हो।
बालेन यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। त्यसपछि उनी रास्वपामा आबद्ध भई २०२६ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका थिए। हाल उनी रास्वपाको संसदीय दलका नेतासमेत छन्।
पार्टीभित्र बालेनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएपछि नीति निर्माण, संगठन विस्तार, सरकार सञ्चालन तथा आगामी राजनीतिक रणनीतिमा उनको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। रास्वपाले युवा नेतृत्वलाई संस्थागत गर्दै पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउने रणनीतिअन्तर्गत यो निर्णय गरिएको जनाएको छ।
रास्वपाले पछिल्ला महिनाहरूमा संगठन पुनर्संरचना, विधान संशोधन तथा नेतृत्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरू गर्दै आएको छ। बालेनलाई वरिष्ठ नेता बनाउने निर्णयलाई पनि सोही रणनीतिक योजनाको निरन्तरता रूपमा हेरिएको छ।