दुर्गम बस्तीमा अझै घोडा–खच्चडकै भर, वर्षायाममा जनजीवन कष्टकर

1k Shares

काठमाडौं । जाजरकोटका दुर्गम गाउँबस्तीमा सडक सञ्जाल विस्तार भए पनि वर्षायाममा सडक सञ्चालन हुन नसक्दा स्थानीय अझै घोडा र खच्चडमार्फत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न बाध्य भएका छन्।

नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिकालगायतका दुर्गम क्षेत्रमा वर्षासँगै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको हो। सडक मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्रीदेखि खाद्यान्नसम्मका सामान घोडा–खच्चडबाट ओसार्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

जाजरकोटका अधिकांश स्थानीय तहका वडा कार्यालयसम्म सडक पुगे पनि दुर्गम बस्ती जोड्ने सडक वर्षायाममा प्रयोगविहीन बन्ने गरेको छ। नलगाड नगरपालिका–१३ सिउना, बारेकोट गाउँपालिका–४ मुल्साम र जुनीचाँदे गाउँपालिका–७ बाहेकका अधिकांश बस्तीमा सडकको पहुँच सीमित रहेको स्थानीयको भनाइ छ।

बारेकोट गाउँपालिका–१ रामीडाँडाका स्थानीय यज्ञ ज्योतिका अनुसार गाउँसम्म सडक पुगे पनि नियमित मर्मत नहुँदा वर्षाको समयमा सवारीसाधन सञ्चालन हुन सक्दैन। त्यसैले घर निर्माणका लागि आवश्यक सिमेन्ट, बालुवा, गिट्टी तथा दैनिक उपभोग्य सामानसमेत घोडा–खच्चडबाट बोक्नुपर्ने बाध्यता छ।

उनका अनुसार नेपालगन्जबाट मालवाहक ट्रकमार्फत प्रतिकिलो १२ रुपैयाँमा बारेकोटसम्म पुगेको सामान गाउँबस्ती पुर्‍याउन मात्रै घोडा–खच्चडमार्फत थप प्रतिकिलो ६ रुपैयाँ तिर्नुपर्छ। यसले स्थानीयको दैनिक जीवनसँगै निर्माण कार्यको लागतसमेत बढाएको उनी बताउँछन्।

स्थानीयवासीले वर्षेनी सडक मर्मत र स्तरोन्नतिमा बेवास्ता हुने गरेको गुनासो गरेका छन्। सडक विस्तारमा करोडौं खर्च भए पनि नियमित मर्मत नहुँदा वर्षा सुरु हुनेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको उनीहरूको भनाइ छ।

जिल्लाका सात स्थानीय तहअन्तर्गत ७७ वडामध्ये अझै केही दुर्गम बस्तीमा सडक पुगेको छैन। त्यस्ता स्थानमा स्थानीयले घोडा, खच्चड वा आफैंले भारी बोकेर पैदल यात्रा गर्नुपर्ने अवस्था कायम छ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले स्थानीय तहको सीमित बजेटले मात्रै दुर्गम क्षेत्रका सडक निर्माण तथा मर्मत सम्भव नभएको बताए। प्रदेश सरकारसँग सडक निर्माण र स्तरोन्नतिका लागि बजेट माग गरिए पनि पर्याप्त सहयोग नपाउँदा समस्या समाधान हुन नसकेको उनको भनाइ छ।

स्थानीयवासीले दुर्गम बस्तीको सडक पूर्वाधारलाई दीर्घकालीन रूपमा व्यवस्थित नगरेसम्म वर्षेनी घोडा–खच्चडकै भरमा दैनिक जीवन चलाउनुपर्ने बाध्यता अन्त्य नहुने बताएका छन्।

 
सम्बन्धित समाचार