हिंसा र जातीय द्वन्द्वले मधेसको विकास रोक्छ : अमरेश कुमार सिंह

1.3k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग, समुदाय र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले पछिल्लो समय मधेसमा देखिएका हिंसात्मक गतिविधि, जातीय तथा धार्मिक तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक द्वन्द्वले मधेसलाई विकासको मार्गबाट दशकौँ पछाडि धकेल्ने चेतावनी दिएका छन्।

उनका अनुसार यस्ता गतिविधिले मधेसको भौतिक पूर्वाधारमा क्षति पुर्‍याउने, शैक्षिक गतिविधि अवरुद्ध बनाउने, व्यापार–व्यवसाय ठप्प पार्ने र समग्र विकास प्रक्रियामा गम्भीर असर पार्ने गरेको छ। हिंसा र द्वन्द्वबाट कुनै पनि समुदायको हित नहुने उनको भनाइ छ।

सांसद सिंहले शान्ति र सामाजिक सद्भाव बिथोल्ने व्यक्ति वा समूह जुनसुकै वर्ग वा समुदायसँग सम्बन्धित भए पनि उनीहरू मधेसको विकासका विरोधी भएको उल्लेख गरेका छन्। त्यस्ता व्यक्तिलाई समाजले अस्वीकार गर्दै सामाजिक बहिष्कार गर्नुपर्ने उनको धारणा छ।

उनले मधेसवासीलाई हिंसात्मक गतिविधिबाट टाढा रहन र समाजमा विभाजन सिर्जना गर्ने तत्वहरूको पछि नलाग्न आग्रह गरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र युवाको रोजगारीलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकासका लागि सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

सांसद सिंहले आफ्नो फेसबुक सन्देशमा लेखेका छन्, “म सम्पूर्ण मधेशवासी आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीमा अपिल गर्न चाहन्छु, समाजको शान्ति र सद्भाव खलबल्याउने असामाजिक तत्वको पछि नलाग्नुस् । त्यस्ता गतिविधि गर्ने जुनसुकै समुदाय वा वर्गका व्यक्ति भए पनि उनीहरू मधेसको विकासका विरोधी हुन्। उनीहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ।”

 
सम्बन्धित समाचार