सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : गोपाल शर्मा

1.6k Shares

काठमाडौँ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गर्दै सुरक्षा व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाए।

सांसद शर्माले कप्तानगञ्ज घटनामा ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ व्यक्ति घाइते भएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा पनि सरकार गम्भीर नदेखिएको बताए।

उनले गृहमन्त्रीलाई लक्षित गर्दै भने, “गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ ? उहाँ सार्वजनिक रूपमा भन्नुहुन्छ– कसैलाई गृह मन्त्रालय चाहिएको छ भने लैजाऊ। के नेतृत्व भनेको जिम्मेवारीबाट भाग्ने हो ? राज्य अभिभावक बन्नुपर्छ कि पर्दैन ?”

सांसद शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको मौनतामाथि पनि प्रश्न उठाए। उनले यति ठूलो घटना हुँदा पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा कुनै धारणा नराखेको भन्दै सरकारको भूमिका स्पष्ट हुनुपर्ने बताए।

उनले भने, “यत्रो ठूलो घटना हुँदा पनि प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न सदनलाई जानकारी छ, न देशलाई। विगतमा राज्य संवेदनशील हुनुपर्छ भन्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै कार्यकालमा भएको घटनामा मौन हुनुहुन्छ।”

सांसद शर्माले सुनसरी घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिका र सरकारले चालेका कदमबारे प्रधानमन्त्री वा गृहमन्त्रीले तत्काल प्रतिनिधिसभामा उपस्थित भएर स्पष्ट जानकारी गराउनुपर्ने माग गरे। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

सम्बन्धित समाचार