प्रचण्डद्वारा सगरमाथा–ल्होत्से ‘नन–स्टप’ आरोही चिनियाँ टोली सम्मानित

1.7k Shares

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकै सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ पर्वतारोही सी जुन्जी तथा उहाँका नेपाली पथप्रदर्शकहरूलाई सम्मान गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार आयोजित कार्यक्रममा चिनियाँ आरोही सी जुन्जीसँगै नेपाली पथप्रदर्शक निङ्मा तामाङ र दावा नुरु राई शेर्पालाई सम्मान गर्नुभएको हो।

सी जुन्जीले हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सन् २०२६ मे १४ मा सगरमाथाको सफल आरोहण गरेपछि क्याम्प–२ सम्म झरेर मे १८ मा ल्होत्सेको सफल आरोहण गर्नुभएको थियो।

सामान्यतया अधिकांश आरोही सगरमाथाबाट फर्किएपछि क्याम्प–४ बाटै ल्होत्सेतर्फ अघि बढ्ने गरे पनि सीको टोलीले क्याम्प–२ बाट पुनः आरोहण सुरु गरेर फरक शैलीमा सफलता हासिल गरेको थियो।

सम्मान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले एउटै सिजनमा ‘नन–स्टप’ शैलीमा दुई हिमाल आरोहण गर्नु साहस, प्राविधिक दक्षता र मानसिक दृढताको उत्कृष्ट उदाहरण भएको बताउनुभयो।

“सगरमाथा र ल्होत्सेको लगातार आरोहणले पर्वतारोहीको शारीरिक क्षमता, प्राविधिक सीप र मानसिक दृढताको कडा परीक्षा लिन्छ। सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई अझ फराकिलो बनाएको छ,” उहाँले भन्नुभयो।

दाहालले हिमालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै स्वर्गीय छोरा प्रकाश दाहालले पनि सगरमाथा आरोहण गरेको स्मरण गर्नुभयो। हिमालको सम्मान गर्दै सुरक्षित रूपमा आरोहण गर्ने प्रत्येक पर्वतारोहीप्रति आफूलाई गहिरो सम्मान रहेको उहाँको भनाइ थियो।

उहाँले नेपाल र चीनबीच पर्वतारोहणमार्फत विकसित जनस्तरको सम्बन्धले दुई देशबीचको सांस्कृतिक तथा मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा सम्मानित आरोही सी जुन्जीले आफ्नो ऐतिहासिक सफलतामा नेपाली गाइडहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। आगामी दिनमा पनि हिमालयन पर्वतारोहणको प्रवर्द्धन तथा नेपाल–चीन मैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहने उहाँले उल्लेख गर्नुभयो। (रासस)

सम्बन्धित समाचार