सुनसरी घटनाको राजनीतिक समाधान खोज्न राप्रपाको आग्रह
1.3k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरी घटनाको दीर्घकालीन समाधान राजनीतिक तहबाट खोज्नुपर्ने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनसरीमा उत्पन्न परिस्थितिलाई केवल सुरक्षा दृष्टिकोणबाट मात्रै नभई राजनीतिक संवाद र सहमतिमार्फत समाधान गर्न आवश्यक रहेको बताइन्।
उनले घटनाले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले सरकार, राजनीतिक दल तथा सरोकारवाला सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
सांसद ओलीले समाजमा कुनै पनि प्रकारको द्वन्द्व र विभाजन बढ्न नदिन सबै पक्ष संयमित बन्नुपर्ने उल्लेख गर्दै सरकारले थप सक्रिय पहल गरेर समस्याको दिगो समाधान खोज्नुपर्ने धारणा राखिन्।
उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्दै मुलुकलाई शान्तिपूर्ण वातावरणतर्फ अघि बढाउन सबै राजनीतिक शक्तिले साझा प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता औंल्याइन्।