सुनसरीका दुवै मृतकका परिवारसँग गृहमन्त्री गुरुङको भेट
1.4k
Shares
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गरी समवेदना व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङले पीडित परिवारलाई भेट्दै घटनाप्रति सरकार गम्भीर रहेको बताउँदै निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले पीडित परिवारलाई न्याय दिलाउन सरकार कुनै पनि हालतमा पछि नहट्ने आश्वासन दिएका छन्।
भेटका क्रममा गृहमन्त्रीले घटनाको सत्यतथ्य बाहिर ल्याउन सुरक्षा निकायलाई निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिइएको जानकारी दिएका थिए। साथै, पीडित परिवारका गुनासा सुन्दै आवश्यक सरकारी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन्।
सुनसरीको घटनापछि स्थानीय क्षेत्रमा तनाव बढेपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। केन्द्रदेखि प्रदेशस्तरसम्म सुरक्षा निकाय परिचालन गरिएको छ भने शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन सरकारको आग्रह रहेको छ।
गृहमन्त्री गुरुङको यो भेटलाई घटनाप्रति सरकारको संवेदनशीलता र पीडित परिवारप्रतिको ऐक्यबद्धताको सन्देशका रूपमा हेरिएको छ। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता दोहोर्याएको छ।