देवानगञ्ज घटनामा ६ बुँदे सम्झौता, मृतकका परिवारलाई १०–१० लाख राहत

1k Shares

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच पीडित पक्षका माग सम्बोधन गर्ने विषयमा ६ बुँदे सहमति भएको छ।

सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा प्रत्येक परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Debangunj-Agreement.jpg

त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सम्झौतामा उल्लेख गरिएको छ।

सहमतिअनुसार प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिस कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

यस्तै, मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ। उक्त ६ बुँदे सम्झौतामा मृतकद्वयका अभिभावकका तर्फबाट प्रतिनिधिहरू तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्

सम्बन्धित समाचार