‘अफवाह होइन, शान्ति रोजौँ’ : तराईको अवस्थाबारे गगन थापाको आग्रह

1.4k Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज घटनापछि पर्सा, धनुषा, सिरहालगायत तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले देवानगञ्ज घटनामा जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवको ज्यान गएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाप्रति सरकारले देखाएको असंवेदनशीलता थप चिन्ताको विषय बनेको उल्लेख गर्दै बारम्बार आश्वासन दिने तर प्रभावकारी कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।

थापाले घटनाको निष्पक्ष, गहिरो र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन्। बलको दुरुपयोग गर्ने र आगजनी तथा हिंसात्मक गतिविधिमा संलग्न सबैलाई कानुनबमोजिम कारबाही हुनुपर्ने उनको भनाइ छ।

यो विषय संघीय सरकारसँग मात्र नभई प्रदेश सरकारसँग पनि सम्बन्धित रहेको उल्लेख गर्दै थापाले मधेश प्रदेशका मुख्यमन्त्रीसँग यस विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले प्रदेश सरकारलाई पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट झुटा सूचना, भ्रम र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन अपिल गर्दै थापाले अफवाह फैलाएर समाजमा विभाजन सिर्जना गर्ने प्रयास नगर्न सबैलाई आग्रह गरेका छन्। विशेषगरी सडकमा रहेका युवाहरूलाई संयमित, जिम्मेवार र सकारात्मक भूमिका खेल्न उनले आह्वान गरेका छन्।

“हिंसाको जवाफ हिंसाले होइन, कानुनी प्रक्रियाले दिनुपर्छ,” थापाले उल्लेख गरेका छन्। दोषीलाई कानुनअनुसार सजाय दिलाउने जिम्मेवारी राज्यको भएको भन्दै उनले शान्ति कायम राख्न सबै नागरिकको सहयोग आवश्यक रहेको बताएका छन्।

आफ्नो स्वार्थका लागि समुदायबीच फाटो ल्याउन खोज्ने तत्त्वहरूलाई समयमै चिनेर असफल बनाउनुपर्नेमा जोड दिँदै थापाले सबै धर्म र संस्कृतिले मानवता, करुणा र सहअस्तित्वको शिक्षा दिने उल्लेख गरेका छन्। सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारा जोगाउनु अहिलेको सबैभन्दा ठूलो दायित्व भएको उनको भनाइ छ।

“कसैको घर–सम्पत्ति नजलोस्, हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्,” थापाले भनेका छन्। “सरकारले आफ्नो जिम्मेवारी पूरा गरोस्, नागरिकले पनि शान्ति कायम राख्न सहयोग गरौँ।”

सम्बन्धित समाचार