काठमाडौँ । मधेश प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाका कारण त्रिभुवन विश्वविद्यालयले एमबीएस तहका परीक्षा ११ वटा परीक्षा केन्द्रमा स्थगित गरेको छ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले शुक्रबार सूचना जारी गर्दै मधेश प्रदेशका ११ परीक्षा केन्द्रमा सञ्चालन हुने एमबीएस प्रथम, तेस्रो र चौथो सेमेस्टरका परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
विश्वविद्यालयका अनुसार पछिल्ला दिनमा मधेश प्रदेशका केही जिल्लामा जारी कर्फ्यु तथा सुरक्षा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै परीक्षार्थी, कर्मचारी र सुरक्षाकर्मीको सुरक्षालाई प्राथमिकता दिई परीक्षा स्थगनको निर्णय गरिएको हो। प्रभावित परीक्षा केन्द्रका नयाँ परीक्षा तालिका पछि सार्वजनिक गरिने जनाइएको छ।
यद्यपि, मधेश प्रदेशबाहेकका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने त्रिभुवन विश्वविद्यालयले स्पष्ट पारेको छ।
एमबीबीएस अध्ययनको सिट संख्या सम्बन्धी विवाद थप चर्किँदै जाँदा निजी मेडिकल कलेजहरूले रेसिडेन्ट चिकित्सकलाई उपलब्ध गराउँदै आएको निर्वाह भत्ता (स्टाइपेन्ड) रोक्ने निर्णय गरेका छन्।
निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल (APMDCAN) ले सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै रेसिडेन्ट चिकित्सकलाई दिइँदै आएको मासिक ४८ हजार ७३७ रुपैयाँ बराबरको निर्वाह भत्ता तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
संस्थाले एमबीबीएस सिट संख्या नबढाउने सहमति संशोधन वा खारेज नभएसम्म भत्ता वितरण नगर्ने चेतावनी दिएको छ। साथै, आफ्ना माग १५ दिनभित्र सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ।
यसअघि चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजलाई पनि सरकारीसरह रेसिडेन्ट चिकित्सकलाई मासिक ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउन निर्देशन दिएको थियो। तर निजी मेडिकल कलेजहरूले सिट संख्या र शुल्क संरचनाको पुनरावलोकन नगरी उक्त निर्णय कार्यान्वयन गर्न नसकिने अडान राख्दै आएका छन्।
एमबीबीएस सिट, शुल्क संरचना र रेसिडेन्ट चिकित्सकको सुविधा सम्बन्धी विवादका कारण चिकित्सा शिक्षा क्षेत्रमा पुनः तनाव बढ्ने संकेत देखिएको छ।