काठमाडौँ । ‘न्याय र अधिकारका लागि एक हुङ्कार’ भन्ने मूल नारासहित ‘रोअर’ अभियानको औपचारिक घोषणा गरिएको छ। बिहीबार काठमाडौँको माइतीघर मण्डलामा पत्रकार, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा आयोजित घोषणा सभामार्फत अभियान सार्वजनिक गरिएको हो।
अभियानकी सदस्य स्मृति बरालले वर्तमान अवस्थामा राज्य आतङ्क बढ्दै गएको दाबी गर्दै न्याय, श्रमजीवी तथा विपन्न वर्गको अधिकार संरक्षण, राष्ट्र र राष्ट्रियताको रक्षा, जननिगरानी, जवाफदेहिता र सुधारका पक्षमा अभियान सञ्चालन गरिने बताइन्।
उनले अभियानका आगामी कार्यक्रम तथा कार्ययोजनाबारे जानकारी दिँदै समाजमा सुशासन, उत्तरदायित्व र नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाइने उल्लेख गरिन्।
कार्यक्रमको सञ्चालन सन्ध्या बरालले गरेकी थिइन् भने स्वागत मन्तव्य हेमन्त सापकोटाले राखेका थिए। सुप्रिया नेपालीले अभियानको उद्देश्यबारे धारणा राख्दै नागरिक अधिकार, पारदर्शिता, जननिगरानी र संस्थागत सुधारलाई अभियानको मुख्य प्राथमिकता बनाइने बताइन्।
सन्ध्या बरालले अन्यायमा परेका, आफ्नो आवाज दबिएको महसुस गरेका तथा अधिकारका पक्षमा उभिन चाहने सबैलाई अभियानमा सहभागी हुन आग्रह गरिन्। उनका अनुसार हाल अभियानमा आबद्ध सदस्यहरू स्वतःस्फूर्त रूपमा जोडिएका हुन् र अधिकांश यसअघि विभिन्न सामाजिक तथा नागरिक अभियानमा सक्रिय रहँदै आएका छन्।
अभियानका अनुसार ‘रोअर’ को अर्थ अधिकार, जननिगरानी, जवाफदेहिता र सुधार हो। अभियानको संयोजकमा हरिस गिरी रहेका छन्। सदस्यहरूमा सन्ध्या बराल, सुप्रिया नेपाली, हेमन्त सापकोटा, स्मृति बराल, विष्णु रसाइली र वीरजङ्ग विश्वकर्मा रहेका छन्।
अभियानले आगामी दिनमा नागरिक अधिकारको संरक्षण, सुशासन प्रवर्द्धन, सार्वजनिक निकायलाई जवाफदेही बनाउने तथा सामाजिक सुधारका विषयमा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।





