सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयबाट जारी हुने सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब सेवाग्राहीको घरमै पुग्ने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र हुलाक निर्देशनालय सुर्खेतबीच भएको सम्झौतासँगै हुलाकमार्फत लाइसेन्स वितरण सुरु हुने भएको हो।
शुक्रबार मन्त्रालयका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार यातायात कार्यालयबाट सबै प्रक्रिया पूरा भई वितरणका लागि तयार भएका लाइसेन्स अब सम्बन्धित सेवाग्राहीको घरमै पुर्याइनेछ।
हाल कर्णाली प्रदेशमा सुर्खेत, जुम्ला र रुकुमपश्चिमस्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स वितरण हुँदै आएको छ। अब ती कार्यालयबाट जारी भएका लाइसेन्स हुलाक कार्यालयमार्फत घरसम्म पुर्याइनेछन्। यसका लागि सेवाग्राहीले ४० रुपैयाँ सेवा शुल्क तिर्नुपर्नेछ।
हुलाक निर्देशनालयका निर्देशक गोविन्दप्रसाद पाण्डेका अनुसार राहदानी वितरणपछि अब लाइसेन्स पनि घरमै पुर्याउने सेवा सुरु गरिएको हो। यसले सरकारी सेवा थप सहज र नागरिकमैत्री बनाउने विश्वास गरिएको उनले बताए।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले सम्झौतापछि कर्णालीका १० वटै जिल्लाका सेवाग्राहीले हुलाकमार्फत घरमै लाइसेन्स पाउने बताए। उनका अनुसार यसले यातायात कार्यालयमा सेवाग्राहीको भिड घटाउनुका साथै सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन सहयोग पुग्नेछ।
हुलाक निर्देशनालयकी सूचना अधिकारी सुनिताकुमारी खत्रीले सम्झौतासँगै सेवा तत्काल कार्यान्वयनमा जाने जानकारी दिँदै अब लाइसेन्स वितरणका लागि सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने बताइन्।