काठमाडौं । ने.क.पा. एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारी अघि बढाएको भन्दै पार्टी सचिव शेरधन राईलाई सक्रिय बनाएका छन्। ओलीको सन्देश लिएर राई विराटनगर पुगेर मुख्यमन्त्री कार्कीसँग छलफल गरेका हुन्।
एमाले स्रोतका अनुसार कोशी प्रदेशका इन्चार्जसमेत रहेका राई पछिल्ला दुई दिनदेखि विराटनगरमा बसेर मुख्यमन्त्री कार्कीलाई राजीनामा गराउने प्रयासमा जुटेका छन्। उनले एक होटलमा मुख्यमन्त्री कार्कीसँग करिब दुई घण्टा छलफल गर्दै पार्टी अध्यक्ष ओलीको सन्देश सुनाएको बताइएको छ।
छलफलका क्रममा राईले अध्यक्ष ओलीको सन्देश भन्दै राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले भने तत्काल राजीनामा दिन अस्वीकार गर्दै संवैधानिक जटिलता आउन सक्ने र यस विषयमा पार्टी सचिवालयले निर्णय गर्नुपर्ने धारणा राखेको स्रोतको भनाइ छ।
हिक्मतकुमार कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका हुन्। यही संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएपछि सरकार गठनमा संकट आउन सक्ने तर्क कार्की पक्षले गर्दै आएको छ।
एमालेभित्रको पुनर्गठन अभियानमा मुख्यमन्त्री कार्की सक्रिय भएपछि नेतृत्व असन्तुष्ट बनेको र उनलाई हटाएर आफू निकटका व्यक्तिलाई अघि सार्ने रणनीति बनाइएको समाचारमा उल्लेख छ। यसअघि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल हटिसकेका छन् भने कोशी र लुम्बिनीका मुख्यमन्त्रीमाथि पनि दबाब बढाइएको बताइएको छ।
यसअघि एमालेका केही पदाधिकारीले राजनीतिक स्थायित्व र संवैधानिक अवस्थालाई ध्यान दिँदै तत्काल मुख्यमन्त्री परिवर्तन नगर्ने धारणा राखेका थिए। तर पछिल्लो समय ओली पक्ष पुनः कार्कीलाई हटाउने प्रयासमा सक्रिय भएको स्रोतको दाबी छ।
मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बहुमत जुटाएर सरकार परिवर्तनको विकल्पमा समेत एमाले नेतृत्व सक्रिय रहेको बताइएको छ। अध्यक्ष ओलीले कोशी प्रदेशका सांसदहरूसँग समेत संवाद गरिरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ। यस घटनाले कोशी प्रदेशको सत्ता समीकरण र एमालेभित्रको आन्तरिक शक्ति संघर्ष थप चासोको विषय बनेको छ।