मागपत्रका बुँदामा स्पष्टता आएपछि मोर्चा सन्तुष्ट, बल प्रयोग नगर्ने गृहमन्त्रीको प्रतिबद्धता

1.4k Shares

जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार जनकपुरधाममा पुनः वार्ता सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि दुवै पक्षबीच १८ बुँदे समझदारी बनेको छ भने मोर्चाले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।

जनकपुरस्थित यात्री निवासमा भएको वार्तामा शनिबार राति प्रस्तुत गरिएको १३ बुँदे मागपत्रलाई थप स्पष्ट पार्दै केही नयाँ विषय समेटिएपछि सहमति १८ बुँदामा विस्तार गरिएको हो। मोर्चाले संशोधित मागपत्र गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार भएको वार्तापछि केही बुँदामा अस्पष्टता रहेको भन्दै मोर्चाले पुनः छलफलको माग गरेको थियो। विशेषगरी लेटरप्याड, हस्ताक्षर र सहमतिका विषयमा देखिएका अन्योललाई आइतबारको वार्तामा स्पष्ट पारिएको उनले बताए।

'हिजो भएका केही विषयमा अस्पष्टता रहेको भन्दै उहाँहरूले जिज्ञासा राख्नुभएको थियो। गृहमन्त्रीज्यूले ती विषयमा स्पष्ट पार्नुभयो। त्यसपछि उहाँहरू सन्तुष्ट हुनुभयो र आन्दोलनका कार्यक्रम फिर्ता लिनुभयो,' प्रमुख जिल्ला अधिकारी लुइँटेलले भने।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही बुँदामा संशोधन र स्पष्टता गरिएको बताए। उनका अनुसार सरकारले मोर्चाका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

'केही विषय सच्याइएको छ। गृहमन्त्रीज्यूले मागहरू सम्बोधन गर्ने आश्वासन दिनुभएको छ। साथै अब आन्दोलनका क्रममा कतै पनि गोली चलाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,' उनले भने।

यसअघि शनिबार राति गृहमन्त्रीलाई बुझाइएको १३ बुँदे मागपत्रमा पहिलो बुँदामा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखिएको थियो भने अन्तिम बुँदामा माग सम्बोधनको प्रक्रिया अघि बढे आन्दोलनका कार्यक्रम फिर्ता लिने उल्लेख गरिएको थियो।

पुनः भएको वार्तापछि दुवै पक्षबीच विश्वासको वातावरण बनेको भन्दै मोर्चाले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाएको छ। सरकारले भने सहमतिका बुँदालाई आवश्यक प्रक्रिया अनुसार अघि बढाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार