चलचित्रमा डेब्यु गर्दै लोकगायक पशुपति शर्मा, ‘तीन तिघ्रे, क्या बिग्रे’को छायाङ्कनमा व्यस्त

2k Shares

कास्की । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा अब नेपाली चलचित्रमा कलाकारका रूपमा देखिने भएका छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको हास्यप्रधान चलचित्र ‘तीन तिघ्रे, क्या बिग्रे’ मार्फत उनले अभिनय यात्राको औपचारिक सुरुवात गर्न लागेका हुन्।

हाल चलचित्रको छायाङ्कनमा व्यस्त रहेका शर्माले यसअघि ‘प्रेमगीत’ र ‘ब्रासलेट’ चलचित्रका लागि गीत गाए पनि कलाकारका रूपमा भने यो पहिलो अनुभव भएको बताएका छन्। उनका अनुसार हास्य विधा आफूलाई मन पर्ने भएकाले चलचित्रमा अभिनय गर्ने प्रस्ताव स्वीकार गरेका हुन्।

“आफ्नै गीतका म्युजिक भिडियोमा अभिनय गरेको अनुभव त छ। कमेडी शैली मलाई मनपर्ने भएकाले यो काम गर्न सक्छु भन्ने लागेको छ। यो मेरो लागि नयाँ र फरक अनुभव हुनेछ,” शर्माले बताए। चलचित्रमा अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहेको छ भने रघुनाथ सापकोटा निर्माता हुन्।

पशुपति शर्माका ‘लुट्न सके लुट’, ‘छाता हरायो’, ‘मलाई अमेरिका यही’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’, ‘मेरो माया बसेको ठाउँमा’ र ‘क्याम्पस पढ्न आउनी’ लगायतका गीत नेपाली संगीत क्षेत्रमा अत्यन्त लोकप्रिय छन्। विशेषगरी ‘लुट्न सके लुट’ गीतले भ्रष्टाचार र सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक सन्देश दिएर व्यापक चर्चा बटुलेको थियो।

शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत हुन्।

लोकसंगीतबाट चलचित्रमा आउने क्रम जारी

पछिल्ला वर्षहरूमा लोकसंगीतबाट चर्चामा आएका कलाकारहरू चलचित्र क्षेत्रमा पनि सक्रिय हुन थालेका छन्। यसअघि लोकगायक प्रकाश सपुतले निर्देशक नारायण रायमाझीको चलचित्र ‘परदेशी २’ मार्फत अभिनयमा डेब्यु गरेका थिए।

पहिलो चलचित्र नै सफल बनेपछि उनले ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘मिरमिरे’ र ‘परालको आगो’ लगायतका चलचित्रमा अभिनय गरे। उनले आफ्नै निर्माण तथा निर्देशनमा ‘वसन्त’ चलचित्र पनि बनाए, यद्यपि उक्त चलचित्रले घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेन।

यस्तै, लोकगायक प्रकाश दुतराज पनि चलचित्र क्षेत्रमा प्रवेश गरिसकेका छन्। उनी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग चलचित्र आहुतिमा मुख्य भूमिकामा देखिने भएका छन्। चलचित्रको छायाङ्कन सम्पन्न भइसके पनि प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

लोकसंगीतबाट लोकप्रिय बनेका कलाकारहरू अहिले अभिनय क्षेत्रमा पनि आफ्नो क्षमता परीक्षण गर्न थालेका छन्, जसले नेपाली चलचित्र उद्योगमा नयाँ आकर्षण थपिएको देखिन्छ।

सम्बन्धित समाचार