काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध नेकपा (एमाले) भित्रैबाट नेतृत्व परिवर्तनको प्रयास तीव्र भएको चर्चा छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि एमाले सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राई विराटनगरमा सक्रिय भएर प्रदेश सांसदहरूसँग छलफल गरिरहेको स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार बेलायत भ्रमणबाट फर्किएपछि राईले अध्यक्ष ओलीसँग भेट गरी निर्देशन लिएका थिए। त्यसपछि उनी विराटनगर पुगेर मुख्यमन्त्री परिवर्तनका विषयमा एमालेका प्रदेशसभा सदस्य तथा सत्ता साझेदार नेकपाका नेताहरूसँग लगातार परामर्शमा जुटेका छन्।
झापाबाट निर्वाचित एक एमाले सांसदका अनुसार सोमबार बिहान पनि राईले केही सांसदहरूसँग भेट गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावनाबारे छलफल गरेका थिए।
राई र कार्कीबीच लामो समयदेखि राजनीतिक मतभेद रहँदै आएको बताइन्छ। यही पृष्ठभूमिमा कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको दाबी स्रोतहरूले गरेका छन्। त्यसका लागि पार्टीभित्रैबाट अविश्वास प्रस्ताव दर्ता गराउने गृहकार्य भइरहेको बताइएको छ।
यसअघि पनि अध्यक्ष ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए। तर कार्कीले पार्टी नेतृत्वलाई आफ्नो पक्षमा पार्दै नेतृत्वमा निरन्तरता कायम राख्न सफल भएको बताइन्छ। त्यतिबेला महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेल कार्कीको पक्षमा देखिएका थिए।
यद्यपि पछिल्ला दिनमा कोशी प्रदेशको नेतृत्व परिवर्तनबारे फेरि चर्चा सुरु भएको छ। स्रोतका अनुसार एमाले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग पनि राईले नेतृत्व परिवर्तनबारे छलफल गरेका छन्।
मुख्यमन्त्री कार्कीले भने पार्टी सचिवालयको औपचारिक निर्णयबिना पद नछोड्ने अडान लिएको बताइएको छ। उता उनले पनि आफ्नो पक्षमा समर्थन कायम राख्न प्रदेश सांसदहरूसँग निरन्तर संवाद गरिरहेका छन्।
स्रोतहरूका अनुसार सोमबार वा मंगलबारभित्रै अविश्वास प्रस्ताव अघि बढ्न सक्ने सम्भावना रहेको चर्चा भए पनि त्यसका लागि आवश्यक समर्थन जुटेको वा नजुटेको विषय भने औपचारिक रूपमा पुष्टि भएको छैन।