नागपोखरीबाट ३२९ ग्राम खैरो हेरोइनसहित चार पक्राउ, नगद र उपकरण पनि बरामद

1.3k Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित एक घरबाट ठूलो परिमाणमा लागूऔषध, नगद तथा विभिन्न सामग्रीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले साउन १८ गते नागपोखरीस्थित प्रभात तिवारीको घर तथा बा ७ च ५१८० नम्बरको गाडीमा खानतलासी गर्दा ३२९.०५ ग्राम खैरो हेरोइनसहित विभिन्न लागूऔषध बरामद गरेको हो।

पक्राउ पर्नेमा घरधनी ४३ वर्षीय प्रभात तिवारी, ललितपुर–४ का ५१ वर्षीय सलिन श्रेष्ठ, काठमाडौं–१४ बल्खुका ५१ वर्षीय भुपेन्द्र श्रेष्ठ तथा सर्लाहीको बरहथवा घर भई काठमाडौं–१२ बस्दै आएका ४० वर्षीय सुजन रायमाझी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उनीहरूको साथबाट ३२९.०५ ग्राम खैरो हेरोइन, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याब्लेट नाइट्राजेपाम तथा १ लाख ९८ हजार ३२५ रुपैयाँ नगद बरामद गरिएको छ।

प्रहरीले घटनास्थलबाट तीन थान ल्यापटप, एक थान डिजिटल तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम फोइल (पेपर) रोल र चार थान मोबाइल फोन समेत जफत गरेको जनाएको छ। पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सम्बन्धित समाचार