काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका २० वटा राजदूत पदमा नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको मूल्यांकन गरिरहेको र अर्को सातासम्म मन्त्रिपरिषद्मा नाम सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
यसपटक पहिलो पटक खुला आवेदन प्रणालीमार्फत राजदूत नियुक्ति गर्न लागिएको हो। परराष्ट्र मन्त्रालयमा करिब तीन हजारभन्दा बढी आवेदन परेका थिए। तीमध्येबाट योग्यता, अनुभव र आवश्यक मापदण्डका आधारमा उपयुक्त उम्मेदवार छनोट गर्ने प्रक्रिया चलिरहेको छ।
हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत र स्पेनस्थित नेपाली दूतावासमा राजदूत पद रिक्त छन्।
यस्तै, कार्यकाल सकिएपछि केही समयका लागि म्याद थपिएका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार तथा संयुक्त राष्ट्रसंघीय नियोग भियनामा पनि नयाँ राजदूत नियुक्त गर्नुपर्ने अवस्था रहेको छ। यससँगै कुल २० वटा कूटनीतिक नियोगमा नयाँ राजदूत नियुक्त हुनेछन्।
नेपालका हाल २८ वटा दूतावास, संयुक्त राष्ट्रसंघका लागि तीन स्थायी नियोग र आठ महावाणिज्य दूतावास गरी कुल ३९ कूटनीतिक नियोग सञ्चालनमा छन्।
सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय गरिसकेको छ।
हाल **न्युयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई)**मा मात्र नेपाली राजदूत कार्यरत छन्।
नेपालमा राजदूत नियुक्तिको अभ्यासअनुसार केही पद राजनीतिक नियुक्ति र केही परराष्ट्र सेवाका करिअर कूटनीतिज्ञबाट पूर्ति गरिन्छ। यसपटक पनि दुवै समूहबाट नियुक्ति गरिने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।