'‘हिन्दु सम्राट सेना’माथि प्रतिबन्ध लगाऊ, प्रधानमन्त्रीको सीमा अभिव्यक्ति रेकर्डबाट हटाऊ' :राई
1.5k
Shares
काठमाडौं । संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि प्रकारको सेनाको अस्तित्व स्वीकार्य नहुने स्पष्ट पारे। उनले सुनसरी र मधेशका पछिल्ला घटनाका क्रममा चर्चामा आएको 'हिन्दु सम्राट सेना'प्रति लक्षित गर्दै यस्ता समूहलाई सरकारले वैधानिकता दिन नहुने बताए।
"नेपालमा एउटै मात्र सेना छ, त्यो नेपाली सेना हो। ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु तत्काल निषेध गर्नुपर्छ," उनले संसदमा भने।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाए। प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति संसदको अभिलेख (रेकर्ड)बाट अझै हटाइएको छैन भन्दै उनले त्यसलाई तत्काल सच्याउन माग गरे।
"के प्रधानमन्त्रीलाई अझै पनि नेपालले भारतको भूमि मिचेको छ भन्ने लाग्छ? यस्तो अभिव्यक्ति तुरुन्तै संसदको रेकर्डबाट हटाइनुपर्छ," राईले भने।
उनले राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकार थप जिम्मेवार बन्नुपर्ने तथा संसदमा दिइने अभिव्यक्तिप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए।
सीमा अभिव्यक्तिबारे सभामुखलाई हर्क राईको प्रश्न
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क राईले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति संसदको रेकर्डबाट किन नहटाइएको भन्दै सभामुखसँग स्पष्ट धारणा माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्री शाहले गत १७ जेठ संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त अभिव्यक्ति अझै संसदको अभिलेखबाट हटाइएको छैन भनेर प्रश्न उठाए।
सभामुख डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै उनले भने, ‘रेकर्डबाट पनि हटाइएको छैन। तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो र मेटाउनुभएको छैन? अथवा के हो? यहाँले पनि भन्दिँदा हुन्थ्यो।’
सांसद राईले सांसदहरूले देशभर निर्वाध रूपमा भ्रमण गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह पनि गरे। उनले ५ साउनमा जनकपुर भ्रमणका क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उल्लेख गर्दै आफ्ना समर्थकमाथि कुटपिट भएको दाबी गरे।
उनले निर्वाचित जनप्रतिनिधिको सुरक्षा र स्वतन्त्र आवतजावतको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।