आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ

1.3k Shares

काठमाडौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी ले मन्त्रालयसँग सम्बन्धित सांसदहरूको मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला पन्त ले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम पनि रहेको छ।

यसैबीच, आज विभिन्न पाँच संसदीय समितिका बैठक पनि बस्ने भएका छन्। अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ, जहाँ उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गरिनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल हुनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, समसामयिक चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ।

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अपराह्न २ः३० बजे बस्नेछ। बैठकमा मुलुकको समसामयिक अवस्था र नीतिगत विषयमा छलफल हुने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार