काठमाडौं । अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेसीको दुई गोलको प्रेरणादायी प्रदर्शनमा इन्टर मायामीले लिग्स कप २०२६ मा विजयी सुरुआत गरेको छ। बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा इन्टर मायामीले मेक्सिकोको क्लब एथलेटिको सान लुइसलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
मियामीस्थित घरेलु मैदानमा भएको खेलमा सुरुआती अग्रता भने एथलेटिको सान लुइसले लिएको थियो। खेलको चौथो मिनेटमा डेभिड रोड्रिगेजले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिक्न सकेन।
फिफा विश्वकपपछि क्लबमा फर्किएका कप्तान मेसीले नोआ एलेनको पासलाई उत्कृष्ट भलीमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि इन्टर मायामीले लगातार तीन गोल गर्दै पहिलो हाफमै ४–१ को बलियो अग्रता बनायो। टोलीका लागि तेलास्को सेगोभियाले दोस्रो गोल गरे भने मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्याए। दुई डिफेन्डरलाई छलाएर गरेको उक्त गोलसँगै मेसी लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा आफ्नो गोल संख्या १४ पुर्याउँदै यसअघिको कीर्तिमान तोडे।
पहिलो हाफको अन्त्यतिर मिकेलले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै इन्टर मायामीलाई ४–१ को अग्रता दिलाए।
दोस्रो हाफमा एथलेटिको सान लुइसका राफा लोरेन्टेले एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन। वर्षाका कारण केही समय खेल रोकिए पनि पुनः सुरु भएपछि दुवै टोलीले गोल गर्न सकेनन्।
यस खेलमा इन्टर मायामीका अनुभवी फरवार्ड लुइस सुआरेज भने मैदानमा थिएनन्। अघिल्लो संस्करणको लिग्स कप फाइनलमा अनुशासन उल्लङ्घन गरेको घटनाका कारण उनी छ खेलको प्रतिबन्धमा रहेका छन्।
सन् २०२३ मा इन्टर मायामीलाई लिग्स कपको उपाधि दिलाएका मेसीले यसपटक पनि टोलीलाई सफल सुरुआत दिलाएका छन्। अब इन्टर मायामीले शनिबार मोन्टेरेसँग खेल्नेछ भने एथलेटिको सान लुइसले आइतबार न्यासभिलसँग प्रतिस्पर्धा गर्नेछ।