डिसेम्बरमा स्वदेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युदण्ड भए पनि निर्णय बदल्दिनँ’

2k Shares

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। देश छाडेको करिब दुई वर्षपछि बुधबार अडियोमार्फत गरिएको २५ मिनेट लामो भर्चुअल सम्बोधनमा उनले जेल हालिए पनि वा मृत्युदण्ड दिइए पनि आफ्नो निर्णय नबदलिने बताएकी हुन्।

क्यामेरा बन्द गरेर गरिएको सम्बोधनमा हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको दाबी गरिन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि त्यहाँबाट बाहिरिन आफूलाई ३० देखि ४० मिनेट मात्र समय मिलेको र त्यसबेला देश नै छाड्नुपर्ने अवस्था आउला भन्ने कल्पना नगरेको उनले बताइन्।

उनका अनुसार आफू पैतृक गाउँ तुंगीपाडा जाने तयारीमा रहेकै बेला बदलिएको राजनीतिक परिस्थितिका कारण देश छोड्न बाध्य हुनुपरेको थियो। आफूमाथि चलाइएका कानुनी कारबाही गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप पनि उनले लगाइन्।

विद्यार्थी आन्दोलनपछि सरकारबाट बाहिरिएकी हसिना ५ अगस्ट २०२४ मा ढाका छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।

गत वर्ष नोभेम्बरमा ढाकास्थित विशेष न्यायाधिकरणले सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गरिएको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै अनुपस्थितिमै हसिनालाई मृत्युदण्डको फैसला सुनाएको थियो। त्यसपछि बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ।

आफ्नो सम्बोधनमा हसिनाले अवामी लिगका नेता तथा कार्यकर्तामाथि हत्या, बेपत्ता पार्ने, पक्राउ गर्ने र झुटा मुद्दा लगाउने कार्य भइरहेको आरोप पनि लगाइन्। उनले कम्तीमा १० हजार व्यक्ति मारिएको वा बेपत्ता भएको तथा १० लाखभन्दा बढी मानिसलाई अज्ञात अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको दाबी गरिन्।

मिडिया रिपोर्टका अनुसार सुरक्षा, कूटनीतिक तथा कानुनी संवेदनशीलतालाई ध्यानमा राख्दै हसिनाले भिडियोमा नदेखिई अडियोमार्फत मात्रै आफ्नो सम्बोधन सार्वजनिक गरेकी हुन्।

सम्बन्धित समाचार