भरतपुर । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पहिलोपटक ‘बोनम्यारो’ (अस्थिमज्जा) प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी थालेको छ। अस्पतालले आवश्यक पूर्वाधार निर्माण, उपकरण व्यवस्थापन तथा जनशक्ति तयारीलाई तीव्रता दिएको जनाएको छ।
अस्पतालका अनुसार रक्तसम्बन्धी क्यान्सर तथा अन्य जटिल रक्तरोगका बिरामीलाई स्वदेशमै उपचार उपलब्ध गराउने उद्देश्यले ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सुरु गर्न लागिएको हो। हाल अस्पतालमा आवश्यक प्रविधि जडान, विशेष वार्ड व्यवस्थापन तथा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिको काम भइरहेको छ।
यो सेवा सञ्चालनमा आएपछि रक्त क्यान्सर, मल्टिपल मायलोमा, लिम्फोमा तथा अन्य अस्थिमज्जासम्बन्धी रोगका बिरामीले विदेश धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। उपचार खर्चमा समेत कमी आउने र धेरै बिरामीले सहज रूपमा सेवा पाउने अस्पतालको विश्वास छ।
अस्पतालले सम्बन्धित सरकारी निकाय तथा विशेषज्ञ संस्थासँग समन्वय गर्दै सेवा सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक र व्यवस्थापकीय प्रक्रिया अघि बढाएको जनाएको छ। प्रारम्भिक चरणमा ‘अटोलोगस बोनम्यारो ट्रान्सप्लान्ट’ (बिरामीकै अस्थिमज्जा वा स्टेम सेल प्रयोग गरी गरिने प्रत्यारोपण) सेवा सुरु गर्ने तयारी रहेको बताइएको छ।
अस्पताल प्रशासनका अनुसार सबै तयारी पूरा भएपछि सेवा औपचारिक रूपमा सञ्चालन गरिनेछ। यसले नेपालमै उच्चस्तरीय क्यान्सर उपचारको पहुँच विस्तार गर्न र बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।