चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने प्रदेश सरकारको निर्णय

1.2k Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। यो निर्णय बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति प्रदान गरिनेछ।

प्रदेश सरकारले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक सम्झौता गर्ने तथा कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने जनाएको छ।

सरकारका अनुसार यस निर्णयले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापन सुरु गर्न आवश्यक पूर्वाधार तयार गर्न सहयोग पुग्नेछ। साथै, प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र स्वास्थ्य क्षेत्रको संस्थागत विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार