विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक योजना असफल भएपछि बढेको आलोचनाका बीच अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन रहेको जनाएको छ। साथै, उक्त योजनाको प्रक्रिया त्रुटिपूर्ण भएको स्वीकार गर्दै फिफाले औपचारिक रूपमा क्षमायाचना पनि गरेको छ।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार मोरक्कोको रबाटमा बसेको सङ्कट बैठकमा महासचिव म्याटियास ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डका सदस्यहरूले अध्यक्ष इन्फान्टिनोप्रति पूर्ण विश्वास व्यक्त गरेका हुन्।
बैठकमा ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक व्यावसायिक सहायक कम्पनीमार्फत अघि बढाइएको विश्वकपसम्बन्धी प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको स्वीकार गरिएको छ। फिफाले यसलाई फरक ढङ्गले अघि बढाउनुपर्ने निष्कर्ष निकाल्दै सदस्य राष्ट्र र फिफा काउन्सिललाई पत्र पठाएर कमजोरीप्रति माफी मागेको जनाएको छ।
फिफाले एफएफईसँग सम्बन्धित प्रस्ताव पूर्ण रूपमा फिर्ता लिइएको पनि स्पष्ट पारेको छ। यसअघि महासचिव ग्राफस्ट्रोमले कर्मचारीलाई पठाएको इमेलमा उक्त योजनालाई ‘दुःखद र निन्दनीय’ भनेका थिए। यद्यपि पछिल्लो बैठकमा उनले अध्यक्ष इन्फान्टिनोप्रति समर्थन दोहोर्याएको फिफाले जनाएको छ। इन्फान्टिनोले पनि महासचिवप्रति आफ्नो विश्वास कायम रहेको बताएका छन्।
यद्यपि फिफाभित्र नेतृत्वको समर्थन कायम रहे पनि बाहिरबाट आलोचना तीव्र बन्दै गएको छ। प्रिमियर लिग, ला लिगा र सिरी एसहित युरोपेली फुटबल लिगहरूको सङ्घले एफएफई प्रस्तावलाई ‘खतरनाक’ भन्दै फिफाको शासन प्रणाली, निर्णय प्रक्रिया र संस्थागत संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ।
सङ्घले सबै सरोकारवालाको सहभागितामा शासन प्रणाली सुधार गर्न आग्रह गर्दै विश्वकपलाई ६४ टोलीसम्म विस्तार गर्ने योजनाको समेत विरोध गरेको छ। सुधार नभएसम्म फिफाका नयाँ प्रतियोगिता वा विस्तार योजनालाई समर्थन नगर्ने चेतावनी पनि दिइएको छ।
पोर्चुगलका पूर्वकप्तान तथा रियल म्याड्रिडका पूर्वखेलाडी लुइस फिगोले इन्फान्टिनोलाई पदबाट हट्न आग्रह गर्दै उहाँको नेतृत्वले फिफाको प्रतिष्ठामा क्षति पुगेको टिप्पणी गरेका छन्।
यसैबीच, सन् २०३० को विश्वकप फाइनल मोरक्कोलाई दिने आश्वासन दिएको भन्ने बेलायती सञ्चारमाध्यमको दाबीलाई फिफाले अस्वीकार गरेको छ। फिफाका प्रवक्ताले अध्यक्ष इन्फान्टिनोले कुनै पनि देशलाई यस्तो प्रतिबद्धता नजनाएको र फाइनलको आयोजना नियमित प्रक्रिया अनुसार तय गरिने स्पष्ट पारेका छन्।
बुधबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि इन्फान्टिनोमाथि गम्भीर शासनगत त्रुटि गरेको आरोप लगाउँदै आफूलाई अब उहाँप्रति विश्वास नरहेको बताएका छन्। सन् २०२६ को विश्वकपसम्बन्धी कार्यक्रममा इन्फान्टिनोसँग सहभागी भएका कार्नीले पछिल्ला घटनाले आफ्नो धारणा परिवर्तन भएको उल्लेख गरेका छन्।
युरोपेली फुटबल महासङ्घ (युइएफए) ले विवादास्पद योजना अघि बढे विश्वकप बहिष्कारसम्म गर्न सक्ने चेतावनी दिएको थियो भने उत्तर तथा मध्य अमेरिका र क्यारिबियन फुटबल महासङ्घ (कन्काकाफ) ले पनि फिफा नेतृत्वले फुटबलभन्दा अन्य स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएको छ।
फिफाभित्र पनि असन्तुष्टि देखिएको छ। विश्व फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले एफएफई योजनाबाट आफूलाई अलग राखेका छन् भने अध्यक्षका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले हालै राजीनामा दिएका छन्। प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले नेतृत्वमा पारदर्शिताको अभाव रहेको टिप्पणी गरेका छन्।
यस्ता विवादका बीच पनि अध्यक्ष जियानी इन्फान्टिनो आगामी मार्चमा हुने फिफा अध्यक्षीय निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा रहेका छन्।