आज बस्दै प्रतिनिधिसभा बैठक, पाँच विधेयक पेस हुने सम्भावित कार्यसूची

1.1k Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) अपराह्न १ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल ले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादव ले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा दर्ता गराउनेछिन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी ले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल ले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय ले जानकारी दिएका छन्।

आजको बैठकमा प्रस्तुत हुने विधेयकहरू प्रशासन, संवैधानिक निकाय, खानी तथा खनिज, मानव बेचबिखन नियन्त्रण र राहदानी व्यवस्थासँग सम्बन्धित कानुनी सुधारका विषयमा केन्द्रित रहेका छन्।

 
 
 
सम्बन्धित समाचार