सुर्खेत । नेपालगञ्जबाट स्कुटरमा सुर्खेततर्फ आउँदै गरेका एक युवक यात्राकै क्रममा बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएकोमा उनको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ निवासी २९ वर्षीय उत्सव जिसीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर–९ कै २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी वीरेन्द्रनगर–४ हर्रे क्षेत्रमा पुगेपछि एक्कासि बेहोस भएका थिए।
जिसी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।