कानुनी प्रक्रिया चलिरहे पनि कांग्रेसको रूपान्तरण अभियान नरोकिने : गुरुराज घिमिरे

939 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा पुगे पनि संगठन सुदृढीकरण र रूपान्तरणको अभियान कुनै पनि परिस्थितिमा नरोकिने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति नेपाली कांग्रेसको विश्वास व्यवहारमै प्रतिबिम्बित हुने उल्लेख गर्दै अदालतका सबै कानुनी प्रक्रियाको सम्मान गर्ने बताएका हुन्।

उनले कानुनी प्रक्रियाले आफ्नो बाटो लिने भए पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र, सुशासन र जनविश्वास पुनर्स्थापनाको अभियान अझ तीव्र रूपमा अघि बढ्ने दाबी गरे।

घिमिरेले नेपाली कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश तथा पार्टी रूपान्तरणको साझा संकल्पबाट निर्देशित भएको उल्लेख गर्दै त्यसलाई कुनै कानुनी प्रक्रियाले रोक्न नसक्ने बताए।

उनका अनुसार अदालतको प्रक्रियाप्रति सम्मान जनाउनु लोकतान्त्रिक संस्कारको हिस्सा हो। तर पार्टीभित्रको रूपान्तरण, संगठन विस्तार र जनविश्वास बढाउने अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता अझ बढेको उनले स्पष्ट पारे।

महामन्त्री घिमिरेले लोकतन्त्रको मूल मर्म असहमतिलाई स्वीकार गर्नु भए पनि त्यसलाई अन्तहीन विवादमा परिणत गर्न नहुने धारणा पनि व्यक्त गरेका छन्। उनले संवाद, संस्थागत प्रक्रिया र पार्टी विधानलाई लोकतान्त्रिक पार्टीका सबैभन्दा विश्वसनीय आधारका रूपमा व्याख्या गरेका छन्।

संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थालाई कमजोर बनाउने तथा व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने उनको टिप्पणी छ।

घिमिरेले अहिले नेपाली कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प, अविश्वासको राजनीतिभन्दा रूपान्तरणमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्ता र शुभेच्छुकलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन्।

सम्बन्धित समाचार