नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट फिर्ता गरेका छन्।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत विराटनगर महानगरपालिका–७, कोसी अस्पताल चोकस्थित नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ छुट्याएको थियो।
बजेट विनियोजनप्रति सरकारलाई धन्यवाद व्यक्त गर्दै कोइरालाले भने उक्त रकम नैतिक आधारमा स्वीकार गर्न नसक्ने निर्णय गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणाामा उनले मुलुकमा अझै पनि ठूलो संख्यामा नागरिक अभाव, गरिबी र कठिन जीवनसँग संघर्ष गरिरहेको अवस्थामा राज्यको सीमित स्रोत–साधन उनीहरूको जीवनस्तर सुधारमा खर्च हुनुपर्ने बताएका छन्।
उनले भनेका छन्, “राज्यसामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्ने मेरो विनम्र आग्रह छ। त्यसैले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा सम्भारका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।”
शेखरको निर्णयलाई सार्वजनिक जीवनमा नैतिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ। उनले सरकारले विनियोजन गरेको रकम अन्य आवश्यक सामाजिक तथा जनकल्याणका क्षेत्रमा उपयोग गर्न सकिने संकेत पनि गरेका छन्।
कोइराला निवास नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक स्थल मानिन्छ। यही घरमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायत कोइराला परिवारका राजनीतिक गतिविधिहरू सञ्चालन भएका थिए। सरकारले त्यसको संरक्षण र मर्मतका लागि बजेट छुट्याएको भए पनि शेखर कोइरालाले जनताको प्राथमिक आवश्यकतालाई अघि सार्दै उक्त बजेट फिर्ता गर्ने निर्णय गरेका हुन्।