काठमाडौं । सरकारले नेपालका तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २०८३ साउन १९ गतेको निर्णयअनुसार तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य–सचिव तथा परिषद् सदस्य मनोनयन गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी नियुक्त हुनुभएको छ । उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार नियुक्त हुनुभएको छ । उपकुलपतिमा ललितपुरका चन्द्र श्याम डङ्गोल र सदस्य–सचिवमा दोलखाका कैलाशकुमार श्रेष्ठ मनोनित हुनुभएको छ ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान
त्यसैगरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौंका ब्रजेश खनाल नियुक्त हुनुभएको छ । उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू वनेम र सदस्य–सचिवमा मोरङका भुपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ ।
तीनवटै प्रतिष्ठानमा नयाँ नेतृत्व चयन भएसँगै नेपाली साहित्य, कला, संगीत तथा नाट्य क्षेत्रका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ । नयाँ पदाधिकारीले सम्बन्धित क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिने सरकारको अपेक्षा छ ।

