बैतडीका १७८ जनाले घरमै पाए राहदानी

1.4k Shares

बैतडी । बैतडीमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ। पछिल्लो तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन्।

जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले तीन महिनामा २४८ राहदानी वितरण गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये १७८ वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको हो। बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकिएको उनले जानकारी दिए।

बैतडीका सबै स्थानीय तहमा राहदानी वितरणसम्बन्धी हुलाक सेवा विस्तार गरिएको छ। नौवटा पालिकामा हुलाक कार्यालय स्थापना गरेर सेवा प्रवाह भइरहेको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

दशरथचन्द नगरपालिकामा भने जिल्ला हुलाक कार्यालयबाटै राहदानी वितरण सेवा सञ्चालन भइरहेको छ।

घरमै राहदानी उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई सदरमुकाम वा सम्बन्धित कार्यालयसम्म पटक–पटक धाउनुपर्ने बाध्यता घटेको छ। दुर्गम जिल्लाका नागरिकलाई सार्वजनिक सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यस्तो सेवाले समय तथा यात्राको खर्च बचतमा समेत सहयोग पुग्ने देखिएको छ।

सम्बन्धित समाचार