काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ । यसअघि साउन २६ गते राति काठमाडौं आइपुग्ने भनिएका देउवा अब साउन २८ गते बिहीबार दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने भएका छन् ।
कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन् । रातिको समयमा स्वागतका लागि असहज हुने भएपछि उनको फर्किने समय परिवर्तन गरिएको हो ।
सिंगापुर र हङकङमा उपचार गराइरहेका देउवाले काठमाडौं फर्किएपछि साउन २९ गतेदेखि आयोजना हुने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।
देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्र पछिल्लो समय बढेको आन्तरिक राजनीतिक गतिविधि र संस्थापन इतर समूहको भेलालाई थप महत्त्वका साथ हेरिएको छ ।