रास्वपाको आन्तरिक विवाद चर्किँदा सांसद पाण्डेको ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ अभिव्यक्ति

1.2k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र आन्तरिक किचलो सतहमा आएका बेला सांसद राजु पाण्डेको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

शनिबार राति प्रधानमन्त्री वालेन्द्र शाहले आफू सत्तामा एक्लिएको संकेत गर्दै सामाजिक सञ्जालमा ‘आफू एक्लै रहेको’ आशयको टिप्पणी गरेपछि रास्वपाभित्रको विवाद थप छताछुल्ल भएको हो ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलगत्तै रास्वपाका सांसद मनिष झासहितका केही नेताले सामाजिक सञ्जालमार्फत नै त्यसको प्रतिवाद गरेका थिए । यसले पार्टी नेतृत्व र सरकारको नेतृत्वबीच मतभेद रहेको चर्चा थप चर्किएको छ ।

यहीबीच पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच संसद् तथा सामाजिक सञ्जालमा अभिव्यक्तिको जुहारी चलिरहेका बेला सांसद पाण्डेले फेसबुकमा ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ लेखेका छन् ।

पाण्डेको यो अभिव्यक्ति कसलाई लक्षित थियो भन्ने उनले स्पष्ट पारेका छैनन् । तर रास्वपाभित्र नेतृत्वबीच दूरी बढेको चर्चा भइरहेका बेला उनको भनाइ सार्वजनिक भएकाले राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री शाह र पार्टी नेतृत्वबीच देखिएको मतभेद, सामाजिक सञ्जालमार्फत नेताहरूबीच भइरहेको सार्वजनिक प्रतिवाद तथा पछिल्ला अभिव्यक्तिले रास्वपाभित्रको आन्तरिक विवाद अब सार्वजनिक बहसको विषय बन्न थालेको देखिएको छ ।

सम्बन्धित समाचार