सुस्ताको कटान क्षेत्र निरीक्षणमा पुगे मुख्यमन्त्री आचार्य

1.2k Shares

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भइरहेको नदी कटान तथा तटबन्ध निर्माणको स्थलगत निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री आचार्यले सुस्ता–५ स्थित नारायणी नदी आसपासको कटान क्षेत्रको निरीक्षण गर्दै स्थानीय बासिन्दाका समस्या र नदी नियन्त्रणका लागि भइरहेका कामबारे जानकारी लिएका हुन् ।

नारायणी नदीको कटान र बाढीका कारण सुस्ता क्षेत्र लामो समयदेखि जोखिममा रहँदै आएको छ । कटान नियन्त्रण तथा बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणको काम अघि बढाइएको छ । तर, निर्माणाधीन तटबन्धको विषयलाई लिएर भारतीय पक्षबाट अवरोध भएको भन्दै स्थानीयले समेत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

मुख्यमन्त्री आचार्यले स्थलगत अवस्थाबारे जानकारी लिएपछि नदी कटानबाट बस्ती र स्थानीयको जमिन जोगाउन आवश्यक पहल तथा समन्वय गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सुस्ता क्षेत्र नेपाल–भारत सीमा विवादका कारण पनि संवेदनशील मानिन्छ । पछिल्लो समय तटबन्ध निर्माणका क्रममा भारतीय सुरक्षा निकायले आपत्ति जनाएपछि यहाँ सुरक्षा निगरानीसमेत बढाइएको छ ।

स्थानीयवासीले भने कटान नियन्त्रणसँगै सीमा सुरक्षा, नागरिकता, पूर्वाधार र लामो समयदेखि भोग्दै आएका अन्य समस्याको दीर्घकालीन समाधानका लागि सरकारसँग माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार