कांग्रेस एकताका लागि गगनलाई पूर्णबहादुरको विशेष अपिल

1.3k Shares

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि दिएको निस्सा पार्टीको सम्पूर्ण एकताका लागि अन्तिम अवसर भएको बताएका छन्।

खड्काले आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्र देखिएका टीका–टिप्पणीप्रति चिन्ता व्यक्त गरेका छन्। उनले पार्टी एकताका लागि सभापति गगन थापाले तत्काल निर्णायक पहल गर्नुपर्ने बताएका छन्।

‘पार्टीको आधिकारिकताको विवादका विषयमा सम्मानित सर्वोच्च अदालतले हामीलाई निस्सा दिएपछिको तीन दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका–टिप्पणी हेर्दा साह्रै चिन्तित बनाएको छ,’ खड्काले लेखेका छन्।

उनले मुलुकको राष्ट्रियता इतिहासकै प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको दाबी गर्दै लोकतान्त्रिक संविधानमाथि समेत चुनौती उत्पन्न भइरहेको बताएका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेस पनि इतिहासमै सबैभन्दा कमजोर र प्रतिकूल अवस्थामा रहेको उनको भनाइ छ।

खड्काका अनुसार अहिलेको प्रथम र अपरिहार्य आवश्यकता कांग्रेसभित्र सम्पूर्ण एकता कायम गर्नु हो। त्यसका लागि पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्ने उनले बताएका छन्।

‘आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो,’ उनले भनेका छन्, ‘यसका लागि हामीबीचमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो।’

वर्तमानका ‘भीमकाय चुनौती’ सामना गर्न पार्टीभित्र सम्पूर्ण एकता अपरिहार्य रहेको उल्लेख गर्दै खड्काले पार्टीका जिम्मेवार नेताहरूलाई व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ अघि बढ्न आग्रह गरेका छन्।

उनले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनका लागि दिएको निस्सालाई पार्टी एकता गर्ने अन्तिम अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

‘सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौं,’ खड्काले भनेका छन्।

उनले कांग्रेस सभापति गगन थापालाई विशेष आग्रह गर्दै पार्टी एकताका लागि तत्काल अग्रमोर्चामा उभिन अपिल गरेका छन्।

‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष–विशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौं र बन्छौं,’ उनले लेखेका छन्।

खड्काले पार्टी एकताको विषयमा ‘निर्णायक’ भूमिका सभापति थापाकै रहेको स्पष्ट संकेतसमेत गरेका छन्। ‘यहाँनिर स्पष्ट हुन जरुरी छ– निर्णायक तपाईं हो, तपाईं,’ उनले भनेका छन्।

पार्टी एकताका लागि अनुकूल वातावरण निर्माण गर्न कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्तालाई समेत उनले अपिल गरेका छन्।

खड्काले राष्ट्र रहे मात्रै बहुदलीय लोकतन्त्र र पार्टी रहने भन्दै अहिलेको परिस्थितिमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताएका छन्।

‘राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ। अनि, त्यसमा हामी रहने ठाउँ रहन्छ। नभए सबै खरानी हुन्छ। हामी सबैमा हेक्का रहोस्,’ उनले भनेका छन्।

सामाजिक सञ्जालमा पार्टीभित्रैबाट भइरहेको आरोप–प्रत्यारोप, दोहोरी र गालीगलौचले कुनै समाधान नदिने भन्दै खड्काले यस्तो प्रवृत्ति अन्त्य गर्नसमेत सबैलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार